‘सनत रचना कथा सम्मान २०८२’बाट नवीन अभिलाषी सम्मानित || FULL PROGRAM
Loklens
0:00 / 0:00
‘सनत रचना कथा सम्मान २०८२’बाट नवीन अभिलाषी सम्मानित || FULL PROGRAM
16 просмотров · 11 дн. назад
Loklens
51 подписчик
16 просмотров · 11 дн. назад
कविता हुँदै कथा लेखनमार्फत नेपाली साहित्यमा हस्तक्षेपकारी कदम राखेका कथाकार नवीन अभिलाषी 'सनत रचना कथा सम्मान २०८२' बाट सम्मानित भएका छन् । नेपालगन्जमा अध्यपश्चिम स्रष्टा समाजले २०८२ सालमा प्रकाशित कथा संग्रह 'दहाड'का लागि अभिलाषीलाई उक्त सम्मानले सम्मानित गरेको हो ।
एक समारोहबीच वरिष्ठ साहित्यकार तथा सम्पादक श्रीओम श्रेष्ठ रोदन र पुरस्कारका संस्थापक तथा वरिष्ठ कथाकार सनत रेग्मीले नगद ११ हजार एक सय ११ रूपैयाँ नगद राशीसहित सम्मानपत्र कथाकार अभिलार्षीलाई हस्तान्तरण गरेका हुन् । गतवर्ष प्रकाशित र आह्वान गरेबमोजिम प्राप्त कथासंग्रहहरुमध्ये वरिष्ठ साहित्यकार तथा सम्पादक गोपाल अश्कको संयोजकत्वमा गठित तीन सदस्यीय छनौट समितिले उक्त कृतिलाई छनौट गरेको आधारमा अभिलाषीलाई सम्मान गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।
मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष बीपी अस्तुले कथा संग्रह 'दहाड' मार्फत् अभिलाषीले नेपाली समाजको इतिहास र वर्तमानका कटु यथार्थहरू, बहुआयामिक असमानताले उत्पन्न गरेका बिडम्बनाहरू र सामाजिक संरचनाको पिँधमा रहनेहरूका अलिखित संघर्षहरूलाई केन्द्रमा राखिएका कथाहरू सृजना गरी नेपाली साहित्यलाई गुन लगाएको योगदानस्वरुप सम्मान गरिएको जानकारी दिएका छन् ।
कथासंग्रह दहाडमाथि आफ्नो समीक्षकीय टिप्पणी राख्दै समीक्षक भागवत पौडेलले कथासंग्रहमा न्यायको मुद्धा केन्द्रमा रहेको र त्यो न्याय कसले दिने भन्ने प्रश्न छोडेर कथाहरु रचना गरिएका बताए । उनले अनेक तहको विभेद र असमानताबाट अन्यायमा परेका मानिसहरुका कथाहरु लेखेर कथाकारले समाजका लागि प्रश्नहरु छोडिदिएको बताए । उनले ती प्रश्नहरु जीवित रहँदासम्म कथासंग्रह सान्दर्भिक भैरहने बताए ।
सम्मानित भइसकेपछि आफ्नो धारणा राख्दै कथाकार अभिलाषीले आफूले समाजमा विभेदका अनेक तहहरु रहेछन् भन्ने थाहा भएदेखि साहित्यको अध्ययन र लेखनमा रुची लागेको बताए । दहाडमा आफ्नो समुदायको इतिहासलाई भुइँतहबाट हेर्ने कोसिस गरेर लेखेको उनको भनाइ छ ।
सनत रचना कथा सम्मान वरिष्ठ कथाकार रेग्मीले आफू र आफ्नी जीवनसंगीनी रचना रेग्मीको नाममा स्थापना गरेको हो भने सम्मान हस्तान्तरणको बन्दोबस्त मध्यपश्चिम स्रष्टा समाजले गर्दै आएको छ । उक्त सम्मान यसअघि पहिलो वर्ष २०७९ सालमा कथा संग्रह 'अँध्यारो बस्तीकी नायिका'का लागि कथाकार दिला शाहलाई प्रदान गरिएको थियो भने २०८० सालको 'कालो गुलाब'का लागि कथाकार गोपाल अश्क र २०८१ सालको 'बहुरुपी' कथासंग्रहका लागि कथाकार श्रेयज सुवेदीलाई प्रदान गरिएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ परिषद सदस्य समेत रहेका अभिलाषी कविता विधामा पनि परिचित नाम हो ।
यसबैबीच सोही कार्यक्रममा कथाकार रेग्मीको ८० औँ जन्मदिवस मनाइनुका साथै दुईवटा कृतिहरुको विमोेचन पनि गरिएको थियो । कार्यक्रममा रेग्मीले रचना गर्नुभएका निबन्धहरूको संग्रह 'टुक्रा टुक्रा जिन्दगी' र रेग्मीको साहित्यिक व्यक्तित्वमाथि विभिन्न व्यक्तिहरुले लेखेका लेखहरूको संगालो 'सनत रेग्मी शब्दाभिनन्दन' पुस्तक पनि विमोचन गरिएको थियो ।
विमोचिक कृतिहरु ‘टुक्रा टुक्रा जिन्दगी’बारे डा. हरि तिमिल्सेना र सनत रेग्मी शब्दाभिनन्दन पुस्तकबारे साहित्यकार ऋचा लुइटेलले परिचयात्मक टिप्पणी राखेका थिए ।
मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष बीपी अस्तुको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा सम्पादक श्रेष्ठ, कथाकार अभिलाषी, उपन्यास समाजका अध्यक्ष शंकर भारती, नेपाली भाषाविद प्रा.डा. कृष्णप्रसाद घिमिरे, भारतको महाराष्ट्रबाट आएका साहित्यकार मनिषा खटाटे, प्रदीप सारंग, नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य किरण आचार्य, लेखक नरेन्द्रजंग पिटर लगायत एक सय बढी साहित्यानुरागीहरुको सहभागीता रहेको थियो ।